
१८ साउन, तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकार र प्राथमिक सेषर (आइपीओ) एकैसाथ सञ्चालनमा ल्याउने भएको छ । आईपीओका लागि एसबीआई मर्चेन्टसँग सम्झौता भइसकेको र केबुलकार आगामी वैशाखदेखि सञ्लालनमा ल्याउने गरी काम भइरहेको छ ।
समयअनुरुप पर्यटकहरुलाई नयाँपन दिनका लागि केबुलकारभित्र रेष्टुरेन्ट सञ्चालन गर्ने योजना रहेको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । प्रत्येक दिन साँझ ५ बजेपछि केबुलकारले मानिस बोक्ने व्यवस्था बन्द गरी उक्त सेवा सञ्चालन गरिने उनले बताए ।
केबुलकार भित्रै शौचालय सहितको सुविधासम्पन्न बनाउनका लागि कति लोड धान्न सक्छ भनेर अनुसन्धान कार्य पनि भइरहेको उनले बताए । अघिल्लो दसैंदेखि केबुलकार सञ्चालन गर्ने तयारी गरिए पनि कृत्रिम अभावका कारण सामान समयमा पाउन नसक्दा निर्माणमा ढिलाइ हुन गएपछि अन्य थप सुविधा थप्दै व्यवस्थित गर्न लागेको उनले बताए ।
आगामी नयाँ वर्षदेखि केबुलकार सञ्चालनमा ल्याउने गरी काम थालिएको उनले जानकारी दिए । केबुलकारका लागि आवश्यक पर्ने सामान र जनशक्ति बाहिरबाट ल्याउनुपर्ने भएकाले ल्याइसकिएको उनले बताए ।
केबुलकारबाट बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्म एक किलोमिटर छसय मिटर दूरीको यात्रा गर्न पाउनेछन् ।
एसियाकै ठूलो दाबी गरिएको बिमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास गरिएको छ । बन्दीपुर केबुलकार एन्ड टुरिजमको लागत रु एक अर्ब ६६ करोड ८९ लाख रहेको बताइएको छ ।
केबुलकार र चारतारे होटल निर्माणसहित कूल रु. तीन अर्ब लगानी हुने देखिएको अध्यक्ष शर्माले बताए । पहिला गरिएको सामानको इष्टिमेटको तुलनामा कम्तीमा २५ प्रतिशत सामानको मूल्य वृद्वि भएकाले लागत बढ्ने सङ्केत देखिएको उनले जानकारी दिए ।
केबुलकारसँगै आईपीओ
यसैगरी बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले केबुलकारसँगै आइपिओ सुरु गर्ने जनाएको छ । आईपीओका लागि एसबीआई मर्चेन्टसँग सम्झौता भइसकेको जनाइएको छ । केबुलकार र आइपिओसँगै सञ्चालनमा ल्याइने गरी काम अघि बढाइएको अध्यक्ष शर्माले बताए ।
शेयर निष्कासन गरी २० प्रतिशत सर्वसाधारणलाई र १० प्रतिशत कम्पनी भित्रका कर्मचारीहरुलाई प्रदान गरिनेछ । यसअघि बन्दीपुर केबुलकारमा एक हजार चार सय जनालाई शेयर वितरण गरेको छ । उक्त परियोजनामा आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्शन लिमिटेड र टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडको ६१, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेडको २५ र बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत शेयर रहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।