
९४ औं एकेडेमी (ओस्कार) अवार्डमा विभिन्न विधामा प्रतिस्पर्धा गर्ने २ सय ७६ वटा फिल्मको नाम सार्वजनिक गरिएको छ। यस सूचीमा मनिषा कोइराला अभिनित फिल्म ‘इन्डिया स्विट्स एन्ड स्पाइसेस’ पनि समावेश छ।
कोइरालाले आफ्नो इन्स्टाग्राममार्फत यसको जानकारी दिएकी हुन्। २०२१ मा रिलिज भएको यस अमेरिकी कमेडी ड्रामाको निर्देशन र लेखक गीता मलिकले गरेकी हुन्। यो फिल्म १९ नोभेम्बर २०२१ मा अमेरिकामा रिलिज भएको थियो। फिल्ममा सोफिया अली, मनिषा कोइराला, ऋष शाह र आदिल हुसैनले काम गरेका थिए।
ओस्कार अवार्डको घोषणा २७ मार्चमा हुनेछ। त्यसअघि २७ जनवरीदेखि १ फेब्रुअरीसम्म मनोनयनका लागि भोटिङ गर्न सकिनेछ। ८ फेब्रुअरीमा ओस्कारमा मनोनयन हुने फिल्महरूको अन्तिम सूची सार्वजनिक हुनेछ।
यसैबीच ९४औं संस्करणको ‘ओस्कर एकेडेमी अवार्ड’ ले पुनः होस्ट पाउने भएको छ। सन् २०१८ पछि यो विश्व प्रतिष्ठित अवार्डले होस्ट पाउन लागेको हो। सन् २०१९ यता ओस्कार होस्टबिना हुँदै आएको थियो।
हुलु ओरिजिनल्स र एबीसी इन्टरटेनमेन्टका प्रमुख क्रेग एविर्चले यस पटकको ओस्कार होस्टसहित आउने बताए पनि अवार्ड कसले होस्ट गर्ने भन्ने केही खुलाएका छैनन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।