
एजेन्सी । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्यो। संसदका बहुमत सदस्यहरुको समर्थनबाट एमसीसी पारित गरिएको हो।
नेपालको संसद्बाट व्याख्यात्मक घोषणासहित पारित गरिएको एमसीसीबारे छिमेकी मुलुक चीनले प्रतिक्रिया दिएको छ। चीनले व्याख्यात्मक घोषणालाई ध्यान दिएको जनाएको छ।
सोमबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनले एक मित्रवत् छिमेकी र विकास साझेदारका रूपमा चीनले सधैंझैं नेपाली जनताको विकासको बाटो छनोटलाई समर्थन गर्ने बताए।
पत्रकार सम्मेलनमा प्रवक्ता वाङले अन्तर्राष्ट्रिय विकास सहयोगले पारस्परिक सम्मान र समान व्यवहारको सिद्धान्तलाई पालना गर्नुपर्ने, सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्ने र अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने हेतुले कुनै राजनीतिक शर्त नराख्ने कुरामा चीनले बारम्बार जोड दिने गरेको बताए।
चीनले एमसीसीको सम्बन्ध बेइजिङबाट व्यक्त भएको यो तेस्रो प्रतिक्रिया हो भने नेपालको संसद्बाट एमसीसी पारित भएपछिको पहिलो प्रतिक्रिया हो ।
यसअघि चीनले एमसीसी पास गर्नका लागि नेपाललाई दबाब नदिन अमेरिकालाई चेतावनी दिएको थियो। यसबीचमा चिनियाँ नेताहरुले नेपालका शीर्ष नेताहरुसँग पनि यस विषयमा कुराकानी गरेका थिए।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।