२०७९ असार १३ सोमबार

बुद्धको यस्ता छन राजनीतिक सन्देश

सिद्धार्थ गौतम (बुद्ध) राजा शु’द्धोधन र मायावतीको कोखबाट नेपालको लुम्बिनीमा जन्मिएका थिए । उनको दर्शन गर्न आएका ऋषिका अनुसार यी बालकले बु’द्धत्व प्राप्त गर्ने भ’वि’ष्य’वा’णी राजा शु’द्धो’धनलाई सुनाउँछन् । उनको न्वारान गरियो । न्वारानमा सम्मिलित १ सय ८ जना पण्डितमध्ये सबैभन्दा कान्छा कौडण्य नामक पण्डितले भने, ‘महाराज यी बालक सर्वअर्थ सिद्ध गरेर बुद्ध नै हुनेछन् ।’

सर्वअर्थ सिद्ध गर्न सक्ने अर्थमा पण्डितले यी बालकको नाम ‘सर्वार्थसिद्ध’ राखे र अर्थसिद्ध गर्ने हुनाले पछि उनलाई ‘सिद्धार्थ’ भनियो । ज्योतिष र पण्डितले गरेका अर्को भविष्यवाणी थियो । ‘यदि राजकुमार गृहस्थाश्रममा नै रहे भने अद्वितीय चक्रवर्ती सम्राट हुनेछन् ।’ राजकुमार सिद्धार्थ जन्मिएको सातौं दिनमा उनको ममतामयी माता मायादेवीको मृत्यु भयो ।

अब यिनको सम्पूर्ण भरणपोषण र पालनपोषणको दायित्व अर्की रानी प्रजापति गौतमीको भयो । जन्मैदेखि राजकुमारले विचित्रका लक्षण देखाउन थालिसकेका थिए । समय बित्दै गयो । स्कुल जान थाले । वेदवेदान्तबाट दीक्षित भए । धार्मिक र दार्शनिक अध्ययनमा धेरैभन्दा धेरै गहनता ल्याउँदै गए । उनी सर्वसाधारणसँग ज्यादाभन्दा ज्यादा घुलमिल हुन थाले ।

राजकुमारको सम्बन्ध सन्न्यासीको जीवनीतर्फ आकर्षित हुँदै थियो किनकि यी सन्न्यासीलाई भौतिक पदार्थहरू वा उच्च सामाजिक प्रतिष्ठाको कुनै चिन्ता नै नभएको उनले पाइरहेका थिए । उनले ‘दरबारिया अधिकारीमा पदलोलुपता अत्यधिक भएको देखिरहेका थिए । राज्यमा असमानता र गरिबीविरुद्धको असन्तुष्टि पनि बढ्दो थियो ।

राजा शुद्धोधन सिद्धार्थका यी क्रियाकलापदेखि पूर्ण जानकार थिए र चिन्तित पनि । छोराले राजमहल त्यागेर सन्न्यासी बन्ला भन्ने पीर र भयले उनलाई पिरोलिरहेको थियो । ब्राह्मणले राजाको पीर दूर गर्ने मनसायले राजकुमारको बिहे गरिदिने सल्लाह राजामा बिन्ती गरे । एकपटक गृहस्थी जीवनमा फसेपछि उनले सन्न्यासी हुने विचार त्याग्नेछन् भन्ने विश्वास ब्राह्मणमा थियो । राजाले आफ्नो भाइ दृढधनराजसँग पनि राय लिए । भाइले पनि बिहे गरिदिने सल्लाह दिए ।

राजा शुद्धोधनकी बहिनी पामिता कोलियाका राजा दण्डपाणिको रानी थिइन् । उनीहरूको छोरी थिइन् यशोधरा । यिनै यशोधरासँग सिद्धार्थको बिहे भयो । यशोधरा पनि वेदवेदान्तका ज्ञाता थिइन् । समाजसेवाको माध्यमबाट दीनदुःखीको हित गर्ने उनको पनि इच्छा थियो । जनताले यी दुईको बिहे उत्सव धुमधामसँग मनाए । सिद्धार्थजस्तै दरबारिया अधिकारीका बीचमा हुने सत्तासंघर्षदेखि यशोधरा पनि वाक्क दिक्क थिइन् । उनीहरू भोगविलासभन्दा अध्यात्मवादमा डुबेका थिए । समाजमा नयाँ व्यवस्था स्थापनाको सपनामा डुबेका थिए ।

जबसम्म स्वार्थी चित्त र हदृय भएका व्यक्ति शासन प्रणालीमा रहन्छन्, तबसम्म आफू नै राजा भए पनि समस्याको समाधान हुँदैन l राजकुमारको सारथि छन्नका साथ उनीहरू गाउँवासीका घरमा गए । बास पनि बसे । त्यहाँ उनीहरूले भोका नांगा गरिबहरू देखे । रोगी देखे । मृत्यु देखे । जति काम गरे पनि किसान परिवारको भरणपोषण गर्न नसक्ने अवस्थामा रहेको पनि देखे । दुःखी जीवन उनीहरूको पर्याय नै थियो । यी सबै दृश्य देखेपछि उनीहरूको सारा खुसी हराएर गयो । निर्धनता र रोगहरूको कारण थियो, दरबारिया अधिकारीको शोषण । यो तीतो सत्य राजासम्म पु-याउन कठिन थियो किनकि आफ्नो स्थायित्वका लागि स्वयं राजा पनि यिनै अधिकारीमाथि निर्भर रहन बाध्य थिए । प्रत्येक अधिकारी सत्तास्वार्थमा एकअर्काको विरुद्धमा भीषण षड्यन्त्र रचिरहन्थे ।

सिद्धार्थ यो दरबारिया राजनीति र आफ्नो पिताको विवशताबारे जानकार थिए । यदि मानिसको हृदयबाट लोभ र ईष्र्याको दुष्ट भावना निकाल्न नसक्ने हो भने यो व्यवस्थामा आफू नै राजा भए पनि केही गर्न नसकिने निचोड राजकुमारको थियो । यस्तै यस्तै कारणले गर्दा आध्यात्मिक मुक्तिमार्गमा चल्ने उनको इच्छाशक्ति अझ बलवान् हुँदै गयो । यशोधराले पनि राजकुमारको मनोभाव प्रष्टसँग बुझिसकेकी थिइन् । यदि सिद्धार्थ आत्ममुक्तिको पथमा हिँडे भने उनी त्यसमा सफल हुनेछन् भन्ने कुरामा यशोधरा विश्वस्त थिइन् ।

सिद्धार्थ र यशोधराको उच्च विचार र सादा जीवन थियो । राजकुमार समाजसेवाबाट मात्र साँचो शान्ति ल्याउन सकिन्न भन्ने पक्षमा थिए । कुनै पनि राज्यको राजनीतिक, आर्थिक र सैनिक समस्याको जड राजनीतिसँग सम्बन्धित मानिसको स्वार्थपूर्ण आकांक्षामा निहित हुन्छ भन्ने कुरो राजकुमारले थाहा पाइसकेका थिए । यसैकारण उनी भारदारी सभामा मौन रहन्थे । राजकुमारको यो मौनता देखेर राजाले जिज्ञासा राखे, ‘किन तिमी भारदारी सभामा चुपचाप बसिरहेका हुन्छौ ? मभन्दा तिमी योग्य पनि छौ । तिमीले समस्या समाधान गर्न सक्छौ । तिमी अब राजकाज चलाऊ ।

’ राजालाई राजकुमारको जवाफ थियो, ‘म राजा भए पनि, मेरो समस्या समाधानका उपाय व्यर्थ हुनेछन् किनकि यी शक्ति सम्पन्न अधिकारीबिना अराजकता फैलन्छ भन्ने हजुरलाई राम्ररी थाहा छ । जबसम्म स्वार्थी चित्त र हृदयलाई हरेक व्यक्तिले मुक्त पार्दैनन्, तबसम्म कुनै पनि समस्याको समाधान हुँदैन ।’ राजा शुद्धोधन राजकुमारको जवाफमा निरुत्तरित भए ।

धर्म आचरण केवल पवित्र ग्रन्थको अध्ययनसम्म मात्र सीमित छैन । बरु, हृदय र चित्तको मुक्तिका लागि ध्यान साधनाको आवश्यकता छ भन्ने कुरो राजकुमारलाई महसुस भइसकेको थियो । जीवनका चार आश्रम (ब्रह्मचर्य, गृहस्थाश्रम, वानप्रस्थाश्रम र सन्याश्रम)बारे राजकुमारको आफ्नै विचार थियो । सन्न्यास ग्रहण गर्दासम्म धेरै ढिला भइसकेको हुने र सद्धर्म राम्रोसँग अध्ययन हुनै नपाउने भन्ने तर्क उनको थियो । व्यक्ति चारै आश्रममा एकसाथ किन बाँच्न सक्दैन ? पारिवारिक जीवन व्यतित गर्दै पनि धार्मिक जीवन किन अपनाउन सक्दैन ? यी प्रश्न उनको मनमा उब्जिरहेको थियो ।

२०७८ पुष १६, शुक्रबार प्रकाशित 1 Minute 413 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?