२०७९ जेष्ठ ३ मंगलवार

५० लाख पर्यटन ल्याउन सकिन्छ भन्ने सोचका साथ हवाई पूर्वाधार निर्माण गर्न निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले अबको तीन महिनामा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिने जानकारी दिनुभएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २३औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उहाँले उक्त विमानस्थलमा ‘क्यालिबे्रसन’ उडानको पहल भइरहेको जानकारी दिनुभयो । खासगरी भारतीय पक्षसँग यस विषयमा कुरा भइसकेको र त्यहाँबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले व्यावसायिक उडानको बाटो पनि खुला हुने उहाँको भनाइ छ ।

भारतले विमानस्थल सीमा क्षेत्र नजिकै रहेकाले त्यसबाट सुरक्षा चुनौती हुन सक्ने जानकारी नेपाललाई गराउँदै आएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि विभिन्न सञ्चालन मोडालिटीमा छलफल भइरहेको र सरकारलाई सबैभन्दा बढी फाइदा हुने मोडालिटी छनोट गरिने मन्त्री आलेले जानकारी दिनुभयो ।

उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी एक वर्षभित्र सञ्चालन गर्नेगरी तयारी गर्न पनि निर्देशन दिनुभयो । युरोपेली सङ्घ (ईयू)ले नेपाली जहाजलाई सुरक्षा सूचीमा राखेकाले त्यसलाई हटाउन सबैले प्रयत्न गर्नुपर्ने उहाँको भनाइ थियो ।

“मैले लन्डन भ्रमणका क्रममा पनि काठमाडौँबाट त्यहाँसम्म छिट्टै उडान हुने प्रतिबद्धता व्यक्त गरेको छु । सुरक्षा सूचीबाट बाहिरिन सबैले पहल गरौँ,” उहाँले भन्नुभयो । ईयूले सन् २०२२ मा नेपालको हवाई सुरक्षाको परीक्षण गर्दै छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउने भएकाले विमानस्थलको व्यावसायिक योजना बनाउन सुझाव दिनुभयो । नेपालमा ५० लाखसम्म पर्यटन ल्याउन सकिन्छ भन्ने सोचका साथ हवाई पूर्वाधार निर्माणमा लाग्न उहाँले निर्देशन दिनुभयो । -जनबोली

 

२०७८ पुष १७, शनिबार प्रकाशित 1 Minute 186 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार