२०७९ जेष्ठ ४ बुधबार

कमल थापासँगको निकटता ओलीलाई निकै महङ्गो पर्ने संकेत, झापाबाट बाहिरियो यस्तो खबर !

काठमाडौं । राप्रपालाई छाडेर नयाँ पार्टी खोलेका कमल थापासँगको निकटताले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गम्भीर धक्का लागेको छ । कमल थापा र केपी ओलीको निकटताको सोझो असर एमाले अध्यक्ष केपी शर्मा ओलीकै गृहनगर दमक नगरपालिकाको चुनावमा पर्ने देखिएको हो ।

नेकपा एमाले र राप्रपाबीच चुनावी गठबन्धन बनाउने कसरत भइरहेका बेला दुई पार्टीको सम्बन्धमा नयाँ ‘ट्विस्ट’ आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग एउटै चिन्हमा चुनाव लड्ने गरी सहकार्य अगाडि बढाएपछि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाचाहिँ एमालेसँग टाढिएको छ ।

दमकमा राप्रपाले शनिबार शक्ति प्रदर्शनसहित राम थापालाई मेयरको उम्मेदवार घोषणा गरेको छ । थापालाई नेपाली काँग्रेसले समेत सघाउने वचन दिएका कारण एमालेमाथि चर्को दबावमा पर्ने देखिएको छ । ०७४ को संघीय चुनाबमा यहाँबाट राप्रपाले केपी ओलीलाई सघाएको थियो । यसपटक राप्रपाले मेयरमा आफूलाई सहयोग गर्न माग गरेको थियो ।

तर, ओलीले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँगको सहकार्यलाई भन्दा कमल थापासँगको सहकार्य अगाडि बढाएपछि दमकको चुनावमा एमाले र राप्रपाबीच प्रतिस्पर्धा हुने स्थिति आएको हो । ०७४ को चुनावमा एमालेका रोमनाथ ओलीले मेयरमा जित्दै गर्दा राप्रपाका राम थापा दोस्रो स्थानमा थिए । यसपटक थापा काँग्रेस र माओवादीको समेत साथ लिएर मेयर बन्ने रणनीतिमा लागेका छन् ।

एमाले निकट स्रोतका अनुसार यसपटक पनि ओलीले राप्रपाका राम थापासँग सहकार्य गर्न चाहेका थिए । मेयरमा एमालेलाई सघाएमा थापालाई आगामी चुनावमा प्रदेश सभामा सघाउन सकिने ओलीले संकेत गरेका थिए । तर, थापाले मेयरको दाबी नछाडेपछि एमालेसँगको सहकार्य हुन नसकेको हो ।

केपी ओलीकै गृह नगरमा मेयर अर्को दललाई दिने हो भने राम्रो सन्देश नजाने भन्दै एमालेले दमकमा राप्रपालाई साथ दिन इन्कार गरेको हो । राप्रपासँग तालमेलको सम्भावना टरेपछि एमालेले उपमेयर गीता अधिकारीसहित ३ जनाको मेयरको उम्मदेवारका रुपमा सिफारिस गरेको छ । यस्तै प्रदेशसदस्य अम्बिका खनाल र होम थापालाई पनि एमालेले मेयरको उम्मेदवारमा सिफारिस गरेको छ । एमालेले हालका प्रमुख रोमनाथ ओलीलाई भने सिफारिस गरेको छैन । उपमेयरमा एमालेले इन्द्र भण्डारी, लीला दाहाल र निर्मला पाठकलाई सिफारिस गरेको छ ।

राप्रपाले भने उपमेयर काँग्रेसलाई दिने गरी गठबन्धन बनाउन लागेको स्रोतले बतायो । काँग्रेसलाई उपमेयरसहित केही वडा दिने र माओवादीलाई पनि केही वडाहरु दिइने राप्रपा नेता बताउँछन् । तर, माओवादीका गगन पुरीले आफू मेयरमा उठ्ने दाबी छाडिसकेका छैनन् ।

त्यसो त ०७४ को चुनावमा झापा क्षेत्र नम्बर ३ मा भएको राप्रपा–एमाले सहकार्य पनि लगभग टुटिसकेको छ । केपी ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई झापा क्षेत्र नम्बर ३ मा चुनावी तयारी गर्न भनिसकेका छन् । प्रसाई झापा ३ मा राजेन्द्र लिङदेनकै ठाउँमा एमालेको उम्मेवार बन्ने भएपछि आगामी संघीय चुनावमा पनि झापामा एमाले–राप्रपा सहकार्यको सम्भावना टाढिएको हो ।

२०७८ चैत्र २८, सोमबार प्रकाशित 0 Minutes 346 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार