
काठमाडौं / शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यू–टावर र सभाहल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ। शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यू–टावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने बताए।
सञ्चालनको मापदण्ड नभएको र असीमित दायित्व सिर्जना गर्ने भएकाले भ्यू–टावर र सभाहल निर्माणका लागि आगामी वर्षको नीति कार्यक्रममा बजेट व्यवस्था नहुने उनको भनाइ छ।
उनले भने, “आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रममा भ्यू–टावर र सभाहल निर्माणको कार्यक्रमबाट अलग्गिन्छौँ बाहिरिन्छौँ। राज्यको असीमित दायित्व सिर्जना हुने यस्ता संरचनाले जनजीवनसँग अर्थ राख्दैनन्।
अर्को कुरा यसको सञ्चालनको मोडालिटीसमेत छैन।” उनले यसअघि मन्त्रालयले बनाइरहेका ३२ वटा सभा हल भने प्राथमिकताका साथ निर्माण सम्पन्न गर्ने बताए।
मन्त्रालयले एकीकृत बस्ती विकास कार्यक्रमलाई पनि निरन्तरता नदिने बताएको छ। एकीकृत बस्ती विकासका कार्यक्रमको प्रभावकारिताप्रति आफू गम्भीर रहेको बताउँदै मन्त्री झाँक्रीले यसलाई विस्थापन गरेर बस्ती विकास कार्यक्रम ल्याइने बताए।
“आगामी बजेटमा एकीकृत बस्ती विकास कार्यक्रमबाट पछि हट्छौँ। पहाडी र हिमाली क्षेत्रमा यो कार्यक्रम प्रभावकारी देखिएन। तराई र काठमाडौँ उपत्यका क्षेत्रमा जग्गाको अभाव छ”, उनले भने।
मन्त्री झाँक्रीले आगामी वर्षको नीति तथा कार्यक्रम यसलाई बस्ती विकास तथा संयुक्त आवास कार्यक्रममा रुपान्तरण गर्न लागिएको बताए। उनले यसअघिको सरकारविना कुनै योजना उक्त कार्यक्रम ल्याएकाले मोरङको सन्थाल बस्तीमा टेण्डर गरेर शिलान्यास गर्दासमेत काम सुरू हुन नसकेको बताए। रासस
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।