२०७९ असार १२ आईतवार

यस्तो पो अदालत, यी पो न्यायाधीश अनि पो राजा !

रत्नबहादुर विष्ट र राजा महेन्द्र :- “सरकार ! यस सेवकलाई क्षमा निगाह होस् मैले मौसूफका ससुराज्यूलाई मुद्धा जिताउन सकिनँ” न्यायाधीश रत्नबहादुर विष्टले हात जोड्दै डराईडराई श्री ५ महेन्द्रसमक्ष बिन्ती चढाए।

“होइन होइन रत्न ! क्षमा माग्नु पर्दैन, तिमीले ठिक निर्णय गर्‍यौ। मैले चाहेको यस्तै निष्पक्ष न्याय व्यवस्था हो, तिमीलाई धन्यवाद छ” आज्ञा भो राजा महेन्द्रले।

कुरा २०२६ सालको हो। रत्नबहादुर विष्ट त्यतिखेर सर्वोच्च अदालतको न्यायाधीश थिए। त्यतिखेरका राजा श्री ५ महेन्द्रका ससुरा श्री हरिशमशेर राणाका विरुद्ध सर्वोच्च अदालतमा एउटा मुद्धा परेको थियो। त्यो मुद्धा रत्नबहादुर विष्टकै इजलासमा थियो र उनले के निर्णय गर्छन् भनेर सबैले चासो लिएर हेरिरहेका थिए।

जुद्ध शमशेरका छोरा हरि शमशेर राजा महेन्द्रका ससुरामात्र नभएर नेपाली सेनाको अतिरथीको मानपदवी पाएका त्यतिखेरका रवाफिला व्यक्ति थिए।

रत्नबहादुर विष्टले सो मुद्धामा हरि शमशेरलाई हराउने निर्णय गरिदिए।

निर्णय गरेको भोलिपल्ट बिहान शनिबार परेको थियो। उनी बिहानै पशुपतिको दर्शन गर्न गएका थिए। हरेक दिन नित्य उनी ना’ङ्गै खुट्टा हिंडेर पशुपतिनाथको दर्शन गर्न जान्थे।

घर पुग्ने बित्तिकै उनकी पत्नीले डडेलधुराको भाषामा उनलाई दरवारको सूचना सुनाईन् – “जाए पुँइ आब दरवार, बेली राजाका सम्धीखि हराईबर आयाथ्यौ, तम्रो जागिर जान्याँ हो आब” (जानुहोस् अब दरवार, हिजो राजाका सम्धिलाई हराएर आउनु भएको थियो, जागिर जाने भो)।

दरवारबाट उनको निवासमा फोन आएको रहेछ, राजाले भेट्न चाहेको भनेर। रत्नबहादुर विष्ट सूचना सुन्ने बित्तिकै दौरासुरुवाल लगाएर तुरुन्तै नारायणहिटि पुगे। माथिको संवाद त्यतिखेरैको हो।

जागिर जाने आशंका बोकेर दरवार पुगेका रत्नबहादुर विष्ट राजा महेन्द्रका वाणी सुनेर छक्क परे। राजाले उनलाई नजिकै राखेर चिया खुवाए। लामो गफ गरे।

राजा उनलाई पुरस्कार दिन चाहन्थे तर त्यस्तो इमान्दार न्यायाधीशलाई हातैमा नगद रकम दिन राजाले असजिलो मानिरहेका थिए। उनले दस हजारका दस वटा नोट एउटा पुस्तकभित्र राखेर त्यो पुस्तक दिंदै भने -“लेउ रत्न ! यो अमेरिकाबाट मगाएको कानून सम्बन्धी नयाँ पुस्तक हो, तिमीलाई काम लाग्छ, पढेर फर्काउनू”।

 

त्यो पुस्तक समाएर रत्नबहादुर विष्ट राजासंग बिदा लिएर घर आए। घरमा पुस्तक खोलेर हेर्दा त्यसमा नगद रकम देखेपछि सोझा रत्नबहादुरले सोचे राजाले पुस्तकमा राखेका नोट निकाल्न बिर्सिएछन्।

त्यसको तीन महिनापछि राजाको जन्मदिनको भोजमा उनलाई पनि निम्तो आयो। उनी त्यो पुस्तक पनि लिएर दरवार गए। पङ्क्तिमा उभिएका रत्नबहादुर विष्टलाई देखेपछि राजाले सोधे – “पढ्यौ त रत्न त्यो पुस्तक?”

“पढें सरकार! सो पुस्तक मौसूफमा फिर्ता चढाउन आज साथै लिएर पनि आएको छु, पुस्तकभित्र नोट पनि रहेछन्। ती नोटहरु जस्ताको त्यस्तै यसैमा सुरक्षित छन् सरकार !”

रत्नबहादुर विष्टको उत्तर सुनेर राजा मुसुक्क हाँसे । त्यो तिमीलाई नै दिएको पुरस्कार हो भन्न भने सकेनन्।

यो घटनाले रत्नबहादुर विष्टको इमान्दारिता राजाको दृष्टिमा झन् अग्लो भयो। एक महिना नपुग्दै भगवतीप्रसाद सिंहले प्रधान न्यायाधीशको पदबाट अवकाश लिएपछि २०२७ साल असारमा राजाले रत्नबहादुर विष्टलाई सर्वोच्च अदालतको प्रधान न्यायाधीश नियुक्त गरिहाले।

विक्रम संवत् १९६८ सालको श्रावण २४ गते डडेलधुराको खलंगामा जन्मेका विष्टले भारतको लखनौबाट अर्थशास्त्रमा एमए र कानुनमा एलएलवी उत्तीर्ण गरेका थिए। पढाइ सकेर १९९४ सालमा त्रिचन्द्र कलेजको प्राध्यापक बनेर काठमाडौ आएका विष्टलाई २००६ सालमा प्रधान न्यायालयको सदस्य मनोनित गरिएको थियो। त्यसपछि उनले ल कमिशनको सदस्य र कानून सचिवको रुपमा काम गरे। राजा महेन्द्र र टंकप्रसाद आचार्यले २०१३ साल जेठमा उनलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका थिए। उनले १४ वर्ष न्यायाधीश र ६ वर्ष प्रधान न्यायाधीशको रुपमा सर्वोच्च अदालतमा कुल २० वर्षसम्म सेवा गरे। ६५ वर्ष उमेर पुगेपछि २०३३ साल श्रावण २३ गते अवकाश लिएका विष्टलाई राजा वीरेन्द्रले २०३६ सालमा जनमत सङ्ग्रह सम्पन्न गराउने आयोगको सदस्य पनि मनोनित गरेका थिए।

७८ वर्षको उमेरमा २०४६ साल मंसिरमा उनको निधन भएको थियो।

-खगेन्द्र गिरि ‘कोपिला’को फेसबुकबाट

२०७९ बैशाख २२, बिहीबार प्रकाशित 1 Minute 313 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?