२०७९ असार १३ सोमबार

जसलाई मतदाताले ढोगेर आशीर्वाद दिए

म्याग्दीको रघुगंगा गाउँकी मीना विश्वकर्मा यसपालि वडा सदस्य उठ्ने तयारी गर्दै थिइन्। केही स्थानीयले गाउँपालिका अध्यक्ष नै उठ्नुपर्छ भने। तर पार्टीमा धेरै नेता अध्यक्षका आकांक्षी भएका ले मीनाले आँट गरेकी थिइनन्।

अलमलमै रहेका बेला स्थानीयले उनलाई ढाडस दिए। मीनाले गाउँपालिका अध्यक्ष उठ्ने निधो गरिन्। माओवादीले उनलाई टिकट पनि दियो। यसरी अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि मीना अहिले चुनावी प्रचारप्रसारमा व्यस्त छिन्।

यही क्रममा उनले रघुगंगा-६, पाखापानी पुगेर माओवादीका पुराना नेता गौबहादुर विश्वकर्मासँग आशीर्वाद मागिन्।

गाउँपालिका अध्यक्ष उठ्ने हिम्मत गरेको भन्दै गौबहादुरले मीनाको खुट्टै ढोगेर आशीर्वाद दिए। उनीहरूबीच नाता साइनो पनि थियो।

‘म अध्यक्षमा उठेँ मामा, आशीर्वाद दिनुस् भनेको थिएँ, उहाँले मेरो खुट्टा ढोगेर आशीर्वाद दिनुभयो,’ मीनाले भनिन्, ‘उहाँको आँखाभरी आँशु देखेँ, मैले पनि मन थाम्न सकिनँ।’

दलित महिलाको गाउँपालिका चुनाव लड्ने हिम्मत देखेर हर्षले आँखा भरिएको गौबहादुर बताउँछन्।

‘हामी सधैं किन तल पर्ने, तिमीले साहस गर्‍यौ,’ गौबहादुरले भने, ‘छोरी तिमीले जनतालाई सेवा गर्ने र विकासका काम गरेर देखाउनुपर्छ।’

गौबहादुरले उम्मेदवारको खुट्टा ढोगेको फोटो सामाजिक सञ्जालमा भाइरल पनि भएको थियो।

गाउँमा बाटोघाटो बनाउन होस् वा खानेपानी र सामुदायिक भवन- विभिन्न समितिमा बसेर काम गरेकी थिइन् मीनाले। त्यही अनुभवका आधार मा उनले गाउँपालिका हाँक्ने अठोट गरेकी छन् र घरदैलो गर्दै मत मागिरहेकी छन्।

घरदैलोमा पुग्दा मीनाले ठूला सपना देखाएकी छैनन्। उनी गाउँको विकास निर्माण र विभेद रहित समाजको कुरा गर्छिन्। दलित समुदाय माझ पुग्दा उनलाई धेरैले हौसला दिएका छन्।

गाउँमा पहिलेजस्तो छुवाछुत अहिले छैन। तर पनि दलितलाई हेर्ने दृष्टिकोण अझै विभेदकारी रहेको मीनाको अनुभव छ।

‘अझै पनि भित्रभित्रै छुवाछुत र विभेद गर्छन्,’ उनले भनिन्, ‘म अध्यक्ष जितेँ भने छुवाछुत हटाउने अभियान नै चलाउँछु।’

गौबहादुरले जस्तै अन्य गाउँका दलित समुदायले पनि आफूलाई सम्मान गरेको मीनाले बताइन्। उनले कांग्रेस उम्मेदवार भवबहा दुर भण्डारी, एमालेका प्रेमबहादुर कार्की र स्वतन्त्र उम्मेदवार सागर भण्डारीसँग गाउँपालिका अध्यक्षमा प्रतिस्पर्धा गर्नुपर्नेछ।

मीनाले चुनाव जित्छिन् कि जित्दिनन्, त्यो वैशाख ३० पछि थाहा हुनेछ। तर उनले दलित समुदाय र आममहिलाको मन जितिसकेको माओवादीका स्थानीय नेता-कार्यकर्ता बताउँछन्।

‘मीनाजीको उम्मेदवारीले दलित समुदायमा उत्साह छाएको छ,’ माओवादी केन्द्रका नेता हरि भण्डारीले भने, ‘उहाँलाई जिताउ नुपर्छ भनेर समुदायले साथ दिएका छन्।’

बेनीको पात्लेखेतमा १० कक्षा पढ्दा पढ्दै १७ वर्षमै विवाह गरेकी मीना माओवादीनिकट अखि ल क्रान्तिकारी र वाइसि एलमा आबद्ध थिइन्। दस वर्ष र तीन वर्षका दुई छोराका आमा उनला ई चुनावी अभियानमा उनका श्रीमानले साथ दिएका छन्।

‘श्रीमान् मसँगै भोट माग्न हिँड्नुभएको छ,’ उनले भनिन्, ‘मलाई परिवार र पूरै समुदायको साथ छ।’

२०७९ बैशाख २२, बिहीबार प्रकाशित 1 Minute 947 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?