२०७९ जेष्ठ ६ शुक्रबार

कटारी नगरको मेयरमा जितेभने तलबी सुविधा लिन्न, गरीबहरुको सेवामा खर्च गर्छु : राजेशचन्द्र श्रेष्ठ

उदयपुरको कटारी नगरपालिकाको मेयर पदमा उमेदवारी दिनु भएका राजेशचन्द्र श्रेष्ठले आफूले मेयरमा जिते तलबी सुविधा नलिने घोषणा गर्नुभएको छ । नेपाली काँग्रेस उदयपुरका जिल्ला सचिव समेत रहनुभएका मेयर पदका उमेदवार श्रेष्ठले मेयर भएपछि आफूले तलब स्वरुप पाउने सुविधा वापतको रकम एउटा छुट्टै कोषमा जम्मा गर्ने र विपन्न समुदायको सेवामा खर्च गर्ने बताउनु भएको हो ।

‘मैले जनताको सेवा गर्छु भनेर मेयरमा उमेदवारी दिएको हुँ । मेयरमा जितेपछि मैले पाउने सेवासुविधा वापतको रकम नलिने घोषणा गर्दछु ।’ मेयर पदका उमेदवार श्रेष्ठले भन्नुभयो । उहाँले राजनीति पेशा नभएकोले आफूले यसलाई लाभका रुपमा नभई जनताको सेवाको रुपमा लिएको बताउनुभयो । ‘जबसम्म नगरवासी सुखि, सम्पन्न र सक्षम बन्दैनन्, तब सम्म नगरको विकास सम्भव नै छैन ।’ मेयर पदका उमेदवार श्रेष्ठले भन्नुभयो ।

कटारी आफैमा स्थानीय स्रोत साधन सम्पन्न नगरपालिका भएकोले ठोस र दीर्घकालीन योजना बनाएर आफूले यहाँको विकास गर्ने मेयर पदका प्रत्यासी श्रेष्ठले बताउनुभयो । ‘कुनै भिजन बिना विकास सम्भव छैन, विकास विना परिवर्तन सम्भव छैन । त्यसैले कटारीलाई यही उपलब्ध स्रोत, साधन र उपलब्ध जनशक्तिको उचित परिचालनबाट पर्याप्त विकास गर्ने आधारहरु छन् ।

म त्यो गर्न सक्छु ।,’ मेयर पदका उमेदवार श्रेष्ठले भन्नुभयो ‘मसँग कटारीको विकासको लागि पर्याप्त भिजन छ ।’ उहाँले स्वस्थ्य, शिक्षा, सडक, बिजुली, खानेपानीको समान वितरणलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बताउनुभयो ।

उहाँले स्थानीय उत्पादनको बजारीकरण, ऐतिहासिक तथा धार्मिक सम्पदाहरुको सौन्दर्यीकरण, युवालाई रोजगारी, किसानलाई सिँचाई तथा मल, गरीबलाई गाँस, वास र कपास नै अहिलेको प्रमुख आवश्यकता भएकोले आफू जनचाहना अनुसार नै पदमा पुगेर काम गर्न आत्तुर रहेको बताउनुभयो ।

उहाँले आफूसँग विकासको स्पष्ट खाका र भिजन भएकोले कटारीवासीले विश्वास गरी अमूल्य मत दिएर मेयरमा निर्वाचित गराउने विश्वास व्यक्त गर्दै आफूले मेयरमा जिते कटारीवासीको दुःखका दिन सकिने पनि बताउनुभयो ।

नेता श्रेष्ठ कटारीका प्रभावशाली यूवा नेता मानिनुहुन्छ । २०५३ सालदेखि राजनीतिमा सक्रिय हुनुभएका श्रेष्ठ नेपाली काँग्रेसको जिल्ला कोषाध्यक्ष हुँदै अहिले जिल्लासचिव हुनुहुन्छ । जिल्ला तथा केन्द्रमा समेत प्रभाव राख्न सक्ने भएकोले पनि कटारीको विकासमा पनि श्रेष्ठले कायापलट ल्याउन सक्ने कटारीवासीको आँकलन छ ।

२०७९ बैशाख २४, शनिबार प्रकाशित 0 Minutes 250 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार