
नेपाली कांग्रेस र माओवादीबाट पाँचखाल नगरपालिकामा उम्मेदवार बनेका महेश खरेल र चेतप्रसाद गौतम सहितका व्यक्ति आफ्नै गाउँका जनताबाट लखेटिएका छन् ।
मौन अवधीमा पनि भोट माग्दै मेयरका उम्मेदवार खरेल र उपमेयरका उम्मेदवार बनेका गौतमसहितका व्यक्तिलाई पाँचखाल–१३ बाट लखेटिएको हो । खरेल नेपाली कांग्रेस र गौतम नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका छन् ।
आज दिउँसो सवा चार बजेको समयमा खरेल आफ्ना कार्यकर्तासहित ३–४ वटा गाडी र एक दर्जन भन्दा बढी मोटरसाइकलमा नेता कार्यकर्ता लिएर भोट माग्न गाउँ पसेका थिए ।
मौन अवधीमा मतदातालाई प्रभावित पार्नेगरी खरेल आएको थाहा पाएछि पाँचखाल नगरपालिका वडा नं. १३ रोटेपिङको दलित बस्तीबाट खरेल नेतृत्वको समूहलाई लखेटिएको हो ।
नेकपा एमालेबाट पाँचखाल- १३ मा वडाअध्यक्षका उम्मेदवार प्रकाश तामाङले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै खरेलको समूह भोट माग्न हिँडेको र सोही क्रममा जनताले प्रतिकार गरेको बताए ।
गठवन्धनका उम्मेदवारहरुले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै तामाङले निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराएका छन् ।
खरेलको समूहमा साठीघरदेखिका मान्छेहरु रहेको र अन्य बाहिरि व्यक्ति पनि रहेको बताइएको छ । आफूलाई भोट माग्दै खरेलले आज पनि घरघरमा कार्ड बाँड्दै गरेको स्थानीयबासीले बताएका छन् ।
जनताले प्रतिकार गरेपछि खरेल एक जनालाई फकाउँदै गाडीतिर गएको त्यहाँबाट फर्किएको भिडियो सार्वजनिक भएको छ ।
यसअघि गएराती पाँचखाल नगरपालिका वडा नं. ४ मा मतदातालाई प्रलोभनमा पार्न हिँडेका कांग्रेसका कार्यकर्तालाई सर्वसाधारणले लखेटेका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।