
परम्परावादी मानिसहरु नयाँ पुस्तामाथि सधैँ प्रश्न उठाउँछन्। अविश्वास गर्छन्। शंकाको नजरले हेर्छन्। काठमाडौं महानगरपालिकाको चुनावमा अग्रता लिइरहेका युवापुस्ताका बालेन शाह र सुनिता डंगोलमाथि अहिले पुरानो पुस्ताले यसैगरी प्रश्न उठाउन थालेको छ।
हिजोसम्म बालेनले मेयरमा एमाले–कांग्रेससँग प्रतिस्पर्धै गर्न सक्दैनन् भन्नेहरुले अहिले अर्को नयाँ प्रश्न अजमाएका छन्– पार्टी, संगठन नै नभएका, राजनीति नै नगरेका बालेनले जितिहाले भने पनि एक्लै काठमाडौं महानगरपालिका कसरी हाँक्न सक्लान्? दल र कर्मचारीहरुले सहयोग गरेनन् भने कसरी सफल होलान्?
लठ्टीको चोटले टाउको रिंगाएका ठूला दलका नेता–कार्यकर्ताहरुले बालेनको सम्भावित जितलाई लिएर केही सैद्धान्तिक– राजनीतिक प्रश्नसमेत उठाएको देखिन्छ।बहुदलीय संसदीय व्यवस्थामा पार्टी अपरिहार्य तत्व भएकाले स्वतन्त्र व्यक्तिले चुनाव जित्नु भनेको देश निर्दलियतातिर जानु हो र व्यवस्थामाथि नै संकट आइपर्नु हो भन्नेखालको विश्लेषणसमेत काठमाडौंमा सुन्न थालिएको छ।
अब देशैभरि यसैगरी लौरो लिएर स्वतन्त्र व्यक्तिले चुनाव जित्न थाले भने राजनीतिक दलको हालत के होला? काठमाडौं महानगरमा बालेनको अग्रतासँगै यस्तो प्रश्न खासगरी कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताहरुको मष्तिष्कमा घुम्न थालेको देखिन्छ।एक इञ्जिनियर एवं र्यापरकाे पहिचान बनाएका बालेन साहले अहिले नै चुनाव जितिसकेको अवस्था होइन। तर, जित्ने सम्भावना बढ्दै गएको छ।
बालेनले कस्तो जादु चलाएर चुनावमा यो सफलता हात पारे? कांग्रेस र एमालेजस्ता मसिहा पार्टीले पनि कसरी एक युवासँग चक्मा खानुपर्ने अवस्था आइलाग्यो? यो अलग्गै विश्लेषणको पाटो हो। तर, यहाँ चर्चा गर्न खोजिएको विषय चाहिँ के हो भने बालेनले जितिहाले भने काठमाडौंको मेयर चलाउन सक्लान् त?
पुरानो सोचको राजनीतिक चेतना बोकेका मानिसले बालेन मात्रै होइन, सुनिता डंगोलमाथि पनि यस्तै प्रश्न उठाउन थालिसकेका छन्। किनभने, सन् २००१ की मिस नेवाः सुनिता डंगोल पनि बालेनजस्तै गैर राजनीतिक पृष्ठभूमीबाट आएकी हुन्। उनी स्वतन्त्र रुपमा मेयरमा उठ्न खोजिरहेकी थिइन्, पछि केपी ओलीले बोलाएर उनलाई एमाले प्रवेश गराएर सूर्य चिह्नको टिकट दिएका हुन्। त्यसैले, सुनिता र बालेनले जिते भने यिनीहरुले महानगरपालिका कसरी चलाउन सक्लान्? अहिले उठिरहेको यो प्रश्न बालेन र सुनिता दुवैजनातिर सोझिइरहेको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।