
काठमाडौँ / काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन)ले फराकिलो मतान्तर बनाएका छन्। सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार बालेनले ३१ हजार ४ सय ५९ मत प्राप्त गरेका छन् ।
उनलाई पच्छ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १६ हजार ६ सय ९१ मत प्राप्त गरेका छन्। बालेन र स्थापितको मतान्तर १४ हजार ७ सय ६८ रहेको छ । त्यस्तै कांग्रेसकी सिर्जना श्रेष्ठले १६ हजार ४ सय ८२ मत पाएकी छिन्।
विराटनगरमा कांग्रेसका कोइराला मेयर र एमालेकी शिल्पा उपमेयर
विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका उनी ३० हजार १ सय ७० मत ल्याउँदै महानगरको मेयर पदमा विजयी बने ।
शनिबार बिहान सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार कोइरालाले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवारलाई पराजित गरेका हुन् । नागेशले एमालेका उम्मेदवार सागरकुमार थापालाई ८ हजार ७ सय १५ मतान्तरले पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । थापाले २१ हजार ४ सय ५५ मत पाए ।
त्यसैगरी, उपमेयरमा एमालेकी शिल्पा निरौला कार्की विजयी भइन् । २५ हजार ६ सय ८० मत ल्याउँदै प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अमरेन्द्र यादवलाई उछिनिन् । यादवले १४ हजार २ सय १९ मत पाए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।