२०७९ असार १२ आईतवार

बालेन शाहलाई खुला पत्र : बाटो नबिराउनु है बालेन !

-राम ढुंगाना – ठ्याक्कै कति बर्ष अगाडी हो याद छैन।तर,दशकौं भएको हुनपर्छ।दार्ही पालेको अलि दुब्लो जस्तो लाग्ने एक युवकले केही भट्याइरहेको भिडियो कतै हेरेको धमिलो-धमिलो याद छ।ती युवकलाई वरिपरी अरु केही युवाहरुले घेर्दै जोस्याईरहेको अनि बेलाबेलामा वाहवाह भन्दै उस्को तारिफ गरिरहेका देखिन्थे।के भनेको होला के भट्याइरहेका होला जस्तो लाग्थ्यो।पछि थाँहा भयो त्यो त र्याप गीत रहेछ।

उतिबेला त्यो र्याप गाउँने केटा भर्खरै काठमाण्डौंको मेयर निर्वाचित बालेन साह रहेछन् भन्ने उनले उमेदवारी घोषणा गरेपछि थाँहा भयो।

सबैभन्दा पहिला नवनिर्वाचित मेयर शाहलाई बधाई तथा सफल कार्यकालको लागी धेरै शुभकामना।

बालेनको र्याप कतै एका-दुई पटक यत्तिकै सुनियो र हेरियो होला।न त्यो र्यापका शब्दहरु अहिले याद छ न त्यसपछि बालेनको अनुहार नै अरु सेलिब्रेटी जस्तो गरेर याद भईरह्यो। बर्खामा गड्गडाउँदै बग्ने खहरे खोला जस्तै भयो बालेनलाई बिर्सिइयो।

बालेन,उबेला तिमी र्याप गायक मात्र हुँदा तिम्रा केही हजार र लाख फ्यान थिए।र्याप मन पराउँने सिमित जमात माझ मात्र परिचित थियौं।तिम्रो परिचय ब्यापक पक्कै थिएन।तिमीलाई बाटोमा र्याप नसुन्नेहरुले देख्दा न चिन्ने थिए न पछ्याउँथे नै।र्यापरको रुपमा एक सिमीत घेरामा भएको तिमी अहिले राष्ट्रिय ब्यक्तित्व भईसकेका छौं।

तिमीलाई अहिले र्याप गीत मन पराउँने प्रशंसकले मात्र होइन लोक,आधुनिक गीत गाउँने-सुन्ने नयाँ पुराना पुस्ता अनि र्याप मन नपराउँनेले समेत चिनिसकेका छन्।त्यति मात्र कहाँ हो र ? भारतीय मिडियामा समेत ‘नेपालका एक युवा र्यापर बनेगा काठमाण्डौंका मेयर’ भनेर समाचार देख्दा गर्वले छाती फुलेको थियो।त्यो समाचार पढ्दा म आफैलाई काठमाण्डौंको मेयर हुन गईरहेको छु जस्तो लाग्यो।

राजनितीक बेथितीको कारण जताततै घोर निराशाको कालो बादलबाट घेरिएर बाँचिरहेका छौं।आशाको किरण टाढाटाढा सम्म देखिएको छैन।हामी त्रसित भईरहेको छौं नी।

अब के होला ? यो देश कता जाला ? यो देश अब पक्का बन्दैन त ? यो देश बनाउँने कोही जन्मिएको छैन होला त ? म आफैलाई प्रश्न गर्थे – के हाम्रो स्वर्ग जस्तो देश हाम्रै आँखा अगाडी,हेर्दाहेर्दै नर्कमा परिणत हुने र त्यसको साक्षी हामी नै हुनपर्ने भयो हैन त ? तिमीहरुले गलत ब्यक्तिलाई चुनेर देश र हाम्रो भविष्य समेत बिगारिदियौं हैन भन्दै हाम्रा छोरा-नातीले हामीलाई धिक्कार्ने भए हैन त ? कहिलेकाही औडाहा हुन्थ्यो देशको खराब हालत सम्झिएर।

चुक घोप्ट्याएको जस्तो अन्धकारमा जुनकिरीको उज्याँलो र पानीमा डुब्न लागेकोलाई परालको त्यान्द्रोको पनि भर हुन्छ भने झैं बालेन तिम्रो राजनितीमा धमकेदार इन्ट्रीपछि हामी यति खुशी भयौं की बच्चा बेलामा कुनै फिल्ममा हिरोइन माथि खलनायकले अत्याचार गर्न लाग्दा हिरो उडेर हिरोइनलाई बचाउँन आउँदा फिल्म हलको सिट माथी उठेर सिट्टी फुक्दै ताली बजाएको जस्तै याद आयो। ऊबेला अत्याचार बिरुद्ध पर्दाको हिरो देख्दा त कति खुशी भईन्थ्यो भने अहिले त राजनितीमा तिमीले रियल हिरोको रुपमा उपस्थिती जनाईसकेका छौं।

तिमी आउँने बित्तिकै रातारात देश बन्छ र तिमीले बनाउँछौं भन्ने पनि हाम्रो चाहना र सोचाई होइन।देश बनाउँने कुरा जादुको छडी जस्तो सजिलो पनि हुँदै होइन।न,त तिम्रो एक्लो प्रयासले यो देश आजको भोली सिंगापुर र स्विटजरल्याण्ड जस्तो बन्ने नै हो।तिमी आशाको किरण चाँहि भयौं बालेन।शहर र देश बनाउँन त हामीले नै साथ र सहयोग दिने हो।यो बिना सम्भव पनि छैन।

केही अन्तरवार्ता हेरें,पत्रपत्रिकामा छापिएका कुराकानी पढें।बालेन,तिमीमा परिपक्कता,दृढता र उच्च आत्मविश्वास भरिएको देख्दा म हायलकायल भएको छु।लाखौं,करोडौं नेपालीहरु तिम्रो यत्तिकै फ्यान भएका होइन रहेछन्।तिम्रो सुझबुझ अनि जतिबेला पनि जोसका साथ हिड्ने तिम्रो आत्मविश्वास देखेर यस्ले बनाउँछ है हाम्रो देशको राजधानीलाई सुन्दर भन्ने विश्वासले नै तिमी सँग प्रत्यक्ष-अप्रत्यक्ष रुपमा लाखौं युवाहरु जोडिएका हुन्।

काठमाण्डौं देशको राजधानी मात्र नभएर सिंगो देशको मुटु पनि हो।जसरी हाम्रो शरीरको मुटु कमजोर र रोगी हुँदा सिंगो शरीर कमजोर र निरिह हुन्छ त्यस्तै देशको राजधानी बेथिती र भद्रगोलको आहालमा डुब्दा सिंगो देश नै प्रभावित हुने त भईहाल्यो।

यहाँ युनेस्कोको सूचीमा सूचीकृत थुप्रै भौतिक संरचनाहरु छन्।त्यस माथी संसारमै कतै नदेखिने र नभएका अनुपम कला सम्पदाहरुको खुला संग्राहलय हो काठमाण्डौं।धार्मिक हिसाबले हेर्दा स्वयम्भू,बौद्धनाथ स्तुपा छन् भने पशुपतिनाथको मन्दिर यहि छ।सनातन धर्माबलम्बीहरुको आस्थाको केन्द्र समेत हो काठमाण्डौं।हाम्रो राजधानी काठमाण्डौंमा जति बिबिधता सायदै संसारमै कतै छन्।अद्धभूत छ काठमाण्डौं।यस्लाई जिवन्त राख्ने जिम्मेवारी अब तिम्रो काँधमा आइपरेको छ बालेन।

बालेन,तिमीलाई काठमाण्डौंको मेयर मात्र कहाँ हो र ? देशकै प्रधानमन्त्री समेत बनाउँन पर्छ भन्न थालिसके।यति धेरै अगाढ माया र स्नेह सायदै यस अघि नेपालको राजनितीमा कसैले पाएको थियो।दुर्लभ माया पाएका छौं।तिमीलाई चुनाब जित्न जति गार्हो भयो त्यो भन्दा गार्हो अब हुनेछ तिमलाई।चुनौतीका कयौं अग्ला र डर लाग्दा पहाड अब पार गर्नुछ। त्यस्ता चुनौतीका पहाड फोड्दै कहिले सम्याउँदै कहिले लगातार उक्लिदै शिखरमा पुगेर विजयको झण्डा गाड्नु छ।

संस्कृति,प्रकृती र कलाकृती प्रेमीहरु र धार्मिक आस्था राख्ने

मानिसहरुको लागी खुला संग्राहलय हो काठमाण्डौं।जसरी फ्रान्सको पेरिस,इटालीको रोम र भेनिस घुम्न बर्षेनी करोडौं पर्यटकहरु त्यहाँ पुग्छन्।यदी काठमाण्डौं सुधार्ने हो भने यहाँ पनि पर्यटकहरुको ओइरो लाग्छ।यस्तो कुरामा पनि ध्यान दिनु बालेन।लाखौं-लाख युवाहरुलाई रोजगारी दिनेछ काठमाण्डौंले।

विकसित देशमा राजधानीको मेयर बनेर राम्रो काम र छाप छोडेकाहरु पछि गएर देशकै प्रधानमन्त्री,राष्ट्रपती समेत बनेका छन्।बालेन तिम्रो नेतृत्वमा हामीले अपेक्षा गरे जस्तै काम गर्यौं भने तिम्रो लागी भविष्यमा प्रधानमन्त्री कुर्सी त्यति टाढा हुने छैन।तिम्ले मेयर बन्छु भनेर देखेको सपना केही बर्षमै पूरा भए जस्तै प्रधानमन्त्रीको कुर्सी त्यति दुर नहोला !

बालेन,तिमी असफल हुँदा र बाटो बिराउँदा परिवर्तन चाहने र देशको समृद्धि र विकास देख्न लालायित करोडौं नेपालीहरुको आशामा तुषारापात हुने छ।भोलीका दिनमा मानिसले अरु कुनै स्वतन्त्र उम्मेदवारलाई विश्वास र भरोसा गर्ने छैनन्।तिमीले काम बिगारेमा यथास्थितीबादी र भ्रष्टहरु झन्झन् शक्तिशाली बन्नेछन् देश र जनता माथी मनमौजी गर्नेछन्।त्यसैले बाटो नबिराउँनू ल।

अन्त्यमा,धरान उपमहानगपालिकाका मेयर हर्क साम्पाङ र धनगढीका मेयर गोपाल हमालको पनि सफलताको कामना गर्दछु।उनीहरु माथी पनि उनीहरुको नगरबासी र सारा देशका मानिसहरुको बालेनमा जत्तिकै अपेक्षा,आशा र भरोसा छ।र,बालेनलाई काठमाण्डौंको मेयरमा विजय हासिल गर्न उनका सारथी बन्नेहरुहरु त्यहाँका सचेत परिवर्तन प्रेमी मतदातामा पनि एकमुष्ट धन्यवाद।

म सदस्य रहेको फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) का सदस्यहरु पनि बालेनको समर्थनमा दिनरात खटिएका थिए।त्यो ग्रुपको सदस्य भएकोमा मलाई गर्व लागेको छ।

२०७९ जेष्ठ १४, शनिबार प्रकाशित 1 Minute 272 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?